रुकुम पश्चिम -१९, वैशाख ।
पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिगको उपाधि जितेको छ । नेपाल भलिबल सङ्घको आयोजनामा वैशाख १० गतेदेखि काठमाडौँको त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा टिपटप हेल्प नेपाललाई ३-० को सोझो सेटमा पराजित गर्दै पश्चिम रुकुम भलिबल केन्द्रले उपाधि जितेको हो ।
प्रतियोगितामा च्याम्पियन बनेसँगै रुकुम पश्चिम काभा क्लब च्याम्पियन्सिपको लागि छनोट भएको छ ।
भलिबल इतिहासमा सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिताको उपाधि जितेसँगै रुकुमले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता टिपटप हेल्प नेपालले भने ५ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगितामा तेस्रो नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टोली समावेश थिए । यस प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको थियो ।
यसैगरी महिलातर्फ आजै भएको फाइनल प्रतियोगितामा न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई पुलिसले पराजित गर्दै काभा क्लब च्याम्पियन्सिपको लागि छनोट भएको छ ।