रुकुम पश्चिम -१२, वैशाख ।
रुकुम पश्चिम स्थित जिल्ला समन्वय समितिको कार्यालयले २०८३ वैशाख ११ गते शुक्रबार एघारौँ जिल्ला सभा आयोजना गरेको थियो । कार्यालयले ठिक ११ बजे सभा सुरु हुने जानकारी सहित आमन्त्रित अतिथिलाई त्यसअघि नै पत्र पठाइसकेको थियो । पत्रमा समन्वय समितिको हलमा कार्यक्रम राखिने र उक्त एघारौँ जिल्ला सभा ठिक ११ बजे नै सुरु हुने बताइएको थियो ।
सोही अनुसार सभामा सहभागी आमन्त्रित अतिथि लगायत सभाका सदस्य र अन्य अतिथिको आगमन हुँदै थियो । तर, केही अतिथि ठीक समयमै कार्यक्रमको सभाहलमा पुगिसकेका थिए, त केही आउँदै थिए ।
तर, तोकिएको समयमा कार्यक्रम सुरु हुन सकेन । समय घर्किसकेकाले कार्यक्रम आयोजक जिल्ला समन्वय समितिले आफ्नो कार्यसूची सहभागीलाई हात हातमा थमाइसकेको थियो ।
कार्यक्रम हलमा प्रवेश गरिसकेकाहरू फुर्सदमा भएर होला उनीहरू प्रमुख अतिथि लगायत केही अतिथिको पर्खाइमा थिए । हल भित्र अनौपचारिक गफगाफ चलिरह्यो ।
कतिपयले एघारौँ जिल्ला सभामा प्रस्तुत गरिने कार्यसूचीमा ध्यान केन्द्रित गरेका थिए । उक्त सभामा जिल्ला समन्वय समितिका प्रमुख तथा सभाका अध्यक्ष लुम्बिनी गौतम केसीले जिल्ला समन्वय समितिको नीति तथा मार्गदर्शन र निर्णय अनुमोदनका लागि छलफल गर्ने कार्यसूची राखिएको थियो ।
तर पनि कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गोपाल शर्मा ‘अनल’ र केही अतिथिको आगमनमा ढिलाई भयो । सभाका प्रमुख अतिथि शर्मा जिल्ला अस्पताल सल्लेमा निर्माणाधीन अवस्थामा रहेको २५ सैयाको अस्पताल भवन अवलोकनमा गएकाले उहाँको आगमनमा ढिलाई भएको खबर प्राप्त भयो ।
सभामा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभा सदस्य महेन्द्रबहादुर केसी, कल्याणी खड्का र मिलन खड्का रोका अतिथि आसनमा पहिले नै बसिसकेका थिए ।
उक्त हलमा अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी र सुरक्षा निकायका प्रमुखको आगमन पनि भइसकेको थिएन ।
११ बजे सुरु हुने भनिएको कार्यक्रमको समय घर्किँदा १२ बजिसकेको थियो । सोही बेला समन्वयको हलमा एकाएक प्रमुख जिल्ला अधिकारी थानीको कार्यशैलीका विषयमा कुरा उठ्न थाल्यो । त्यहाँ सहभागी सभाका सदस्य अर्थात् पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यले प्रजिअको आगमनको विषयमा कुरा उठाउन थाले ।
उनीहरूले अघिपछि अरुलाई समयको ख्याल गर्न र कार्यक्रम आयोजना गर्दा अलिकति समय घर्किदा पनि दोष दिने सिडिओले आज किन ढिलाई गरे । प्रसङ्ग त्यति मात्र रहेन, रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका प्रजिअ थानीले जनताबाट निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधि देखि प्रदेश र सङ्घीय सांसदलाई पनि नटेर्ने गरेको अवस्था छताछुल्ल भयो ।
उनीहरूले सिडिओको कार्यशैलीका कारण भूकम्प प्रभावितका कामहरू समयमै सम्पन्न हुन नसकेको कुरा उठाए । जिल्ला प्रशासनको ठूलो भवनमा बस्नेले टहरामा बस्नेको दुःख बुझ्न नसकेको गुनासो पोखे । कुरा त्यतिमै रोकिएन, अहिलेका सिडिओले कसैलाई पनि नटेर्ने, उल्टै वडा अध्यक्षहरूलाई बोलाएर तपाईँहरूका पालिका प्रमुख र अध्यक्षहरूले काम गर्न सकेनन् सम्झाउनुहोस् भनेर पठाउने गरेको कुरा उक्त हलमा सुनियो ।
जतिबेला कुरा उठ्यो, एकै स्वरमा पालिका प्रमुख र अध्यक्षहरुले आजको कार्यक्रममा यदि सिडिओ प्रवेश गरेमा हामीले यो सभा बहिष्कार गर्छौं ।
त्यतिबेलै जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक अतिथि आसन गर्ने ठाउँबाट उठेर अलिकति अगाडि आए । उनले उभिएरै भने, “आजको एघारौँ जिल्ला सभा हामीले आयोजना गरेका हौँ । यो कार्यक्रमको गरिमा छुट्टै छ । त्यसैले तपाईँहरूले उठाएको कुरालाई हामीले यो कार्यक्रमभन्दा बाहिर सिडिओलाई भेटेर कुरा गरौँला । आजलाई तपाईँहरूले बुझिदिनु पर्यो भनेपछि माहोल केही शान्त भयो ।”
तर कुरा रोकिएन, सभाको छलफलमा अहिलेका सिडिओको कार्यशैलीका विषयमा हामी आलोचना गर्छौं भनेर सभाका सदस्यहरूले कुरा उठाइरहेका थिए । त्यतिबेलै सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गोपाल शर्माको आगमन भयो । र त्यो कुरा त्यसैमा सीमित भयो । सभाको कार्यक्रम ठिक सवा १२ बजे औपचारिक रुपमा सुरु भयो ।
जिल्ला सभा चलिरहेकै बेला एकाएक प्रमुख जिल्ला अधिकारी थानीको करिब साढे १२ बजे आगमन भयो । उनको आसन ग्रहण पनि भयो । र कार्यक्रम निरन्तर चलिरह्यो ।
उक्त कार्यक्रमको सूची अनुसार सभामा अतिथिको मन्तव्य राख्ने कार्यक्रम थियो । कार्यसूची अनुसार बमोजिम नै जिल्ला समन्वय समितिका प्रमुख तथा सभाका अध्यक्ष लुम्बिनी गौतम केसीबाट नीति तथा निर्णय प्रस्तुत भयो ।
त्यसपश्चात् सम्मान कार्यक्रम सुरु भयो र लगत्तै पत्रकार महासंघका सचिव दिपेन्द्र महताराले सुरुमै शुभकामना मन्तव्य राखे । लगत्तै उनै सिडिओ थानीको बोल्ने पालो आयो । र प्रजिअ थानीले आफ्नो भनाई राखेर कुनै अर्को एक कार्यक्रममा जानुपर्ने भएको देखाउँदै हलबाट निस्किए ।
तर, सिडिओको कार्यशैलीप्रति आलोचना गर्ने कुरा त्यहाँ पूरा भएन, र उनी आलोचनाबाट बच्न सफल भए । अन्तिममा जिल्ला सभाको औपचारिक कार्यक्रम सकियो । तर पनि प्रजिअलाई भेटेरै भए पनि एकसाथ कुरा राख्ने प्रसङ्ग चलिरह्यो ।
अन्ततः प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलको नेतृत्वमा रुकुम पश्चिमका सबै पालिकाका प्रमुख तथा अध्यक्षले प्रजिअ थानीलाई भेट्ने कुरा भयो । उहाँलाई टेलिफोन मार्फत कार्यकक्षमा भेट गर्ने वातावरण मिलाउन अनुरोध भइरह्यो । तर, सिडियोले नै आफ्नो व्यस्तता देखाउँदै भेट गर्ने वातावरण मिलाउन सकेनन् । बरु उनी शुक्रबारदेखि चौरजहारीमा आयोजना गरिएको पाँचौं बृहत चौरजहारी व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न पुगे ।
सिडिओ थानीको नेतृत्व र कार्यशैलीमा व्यापक असन्तुष्टि र आरोप छताछुल्ल
२०८२ भदौ महिनामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्व सम्हाल्न आइपुगेका प्रजिअ थानीको कामकारबाही र नेतृत्वशैलीलाई लिएर गम्भीर असन्तुष्टि र आरोपहरू सार्वजनिक हुन थालेका छन् । थानीको कार्यशैली, सेवा प्रवाह व्यवस्थापन तथा कर्मचारीसँगको सम्बन्धप्रति सेवाग्राही, कर्मचारी र स्थानीय सरोकारवालाहरूले प्रश्न उठाउने गरेका छन् ।
स्रोतका अनुसार गत मंसिर महिनाको पहिलो साता जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी तथा अन्य प्रशासनिक सेवा लिन सेवाग्राहीको अत्यधिक भीड थियो । त्यो बेला सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओली बिदामा रहेका कारण कार्यालयमा सेवा चाप अलि बढेको थियो । तर, प्रजिअ थानी भने कार्यालयमा कुनै जानकारी नदिएर सुटुक्क सानीभेरी गाउँपालिकामा लाग्ने स्थानीय बेल्टापु मेलामा निस्किए ।
घण्टौँ लाइनमा बसेका सेवाग्राही बेलुकी ५ बजेसम्म पनि प्रजिअ नआएपछि काम नभएरै फर्किएका थिए । सेवाग्राहीले यस्तो संवेदनशील समयमा समेत कार्यालय प्रमुख सेवाप्रवाहको व्यवस्थापनमा सक्रिय नभएको आरोप लगाए ।
त्यतिमात्रै कहाँ हो र, कर्मचारीसँग तनावपूर्ण सम्बन्धको आरोप जिल्ला प्रशासन कार्यालय भित्रको वातावरणमा पनि पछिल्लो समय असहज बन्दै गएको छ । प्रजिअ थानीले कर्मचारीसँग कडा र अपमानजनक व्यवहार गर्ने गरेको स्रोत बताउँछ ।
प्राप्त स्रोतका अनुसार प्रशासनिक फाइल व्यवस्थापनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी ओलीसँग सम्बन्धित एक फाइल सबै कर्मचारीकै अगाडि फालिएको घटना पनि बाहिरिएको छ । यस घटनाले कार्यालयभित्र असन्तोष, तनाव र कामकाजमा असहजता बढ्दै गएको पाइएको छ ।
त्यसैगरी भूकम्पपछि रुकुम पश्चिममा सञ्चालन गरिएको भूकम्प प्रभावित पुनर्निर्माण कार्य पनि प्रभावकारी रूपमा अघि नबढेको आरोप स्थानीय तहबाट उठेको छ ।
प्रभावित नागरिक र सरोकारवालाका अनुसार पुनर्निर्माण सम्बन्धी फाइल अगाडि नबढ्नु थानीकै कमजोरी भएको आरोप लाग्दै आइरहेको छ । जसका कारण भूकम्प प्रभावित परिवारहरू अहिलेसम्म अस्थायी आवासमै बस्न बाध्य भएको उनीहरूको गुनासो छ ।
प्रजिअ थानी र प्रशासन कार्यालयको समग्र कार्यक्षमतामाथि अहिले चौतर्फी सेवाग्राही र स्थानीय सरोकारवालाले प्रश्न उठाउँदै आएका छन् । उनीहरूका अनुसार प्रशासनिक नेतृत्वले सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र पुनर्निर्माण जस्ता महत्वपूर्ण जिम्मेवारीमा पर्याप्त ध्यान दिन नसकेको देखिन्छ । यसले सार्वजनिक सेवा प्रणालीप्रति जनविश्वास कमजोर बनाउने अवस्थाको आरोप उठ्दै जाँदा प्रजिअ थानीको नेतृत्व र कार्यशैली छताछुल्ल हुँदै गएको छ ।