रुकुम पश्चिम -११, वैशाख ।
रुकुम पश्चिम प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा खेती गरिएको लागू औषध अफिम नष्ट गरेको छ । चालु आर्थिक वर्षको फागुनदेखि हालसम्म विभिन्न स्थानमा खेती गरिएको ५ सय १८ रोपनी अवैध अफिम खेती नष्ट गरिएको हो ।
प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र मातहतबाट खटी गएको टोलीले आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोटका केही स्थानमा लगाइएको अफिम नष्ट गरिएको छ । जसमध्ये सबैभन्दा धेरै आठबिसकोट नगरपालिकाको गोतामकोट र स्यालाखदीका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।
प्रहरीले बताए अनुसार विभिन्न स्थानमा अवैध रूपमा खेती गरिएको पाँच रोपनीदेखि ४५ रोपनीसम्मको अफिम खेती नष्ट गरिएको छ ।
प्रहरीको यो अभियानमा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल लगायत प्रहरी र प्रशासनको टोली अफिम खेती नष्ट गर्नमा सहभागी भएको जनाइएको छ ।