रुकुम पश्चिम -२६, फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जिल्ला सभापतिबाट राजीनामा दिने घोषणा गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई विजय गराउन नसकेको भन्दै सभापतिबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शाहीले निर्वाचनमा पराजित भएकोमा सम्पूर्ण हारको जिम्मेवारी लिने गरी प्रदेश सभापति समक्ष राजीनामा पेश गरेका छन् । उनले जिल्ला सभापतिबाट राजीनामा दिने कुरा सार्वजनिक गरेपनि आगामी दिनमा रास्वपा पार्टी निर्माणका लागि अझ सशक्त भएर लाग्ने बताएका छन् ।
त्यसका लागि रुकुम पश्चिमका सबै वडामा पार्टीको संगठन विस्तार गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्नेमा निरन्तर लागिपर्ने जनाएका छन् । शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो कठिन अवस्थामा तीनजना व्यक्तिले जिल्लामा रास्वपा पार्टी विस्तार गरेको सम्झँदै यसपटकको निर्वाचनमा उक्त पार्टी देशको ठूलो राजनीतिक दल हुँदै एकल सरकार सञ्चालनको तयारीमा रहेकाले खुसी समेत व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ ४ हजार ७६ मत प्राप्त गर्दा समानुपातिक तर्फ १० हजार १ सय ४९ मत प्राप्त गर्न सफल भएको छ ।