रुकुम पश्चिम -१७, फागुन ।
इजरायल र अमेरिकाको मिसाइल आक्रमणबाट कम्तिमा ८५ जना इरानीको मृत्यु भएको छ । शनिबार भएको आक्रमणबाट विद्यालयमा अध्ययनरत बालबालिका र सर्वसाधारण गरी ८५ जनाको मृत्यु भएको इरानका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिसाइल आक्रमणबाट इरानको एउटा विद्यालयमा ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको छ ।
त्यस्तै इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको समेत तस्बीर सार्वजनिक गरेका छन् ।
आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो ।
यसैबिच इरानका सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा परी मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेको संयुक्त हवाइ आक्रमणमा नेता खामेनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।