रुकुम पश्चिम -१६, फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले आज एक प्रेस विज्ञप्ति मार्फत पार्टीको झण्डा प्रयोग गरिएको मोटरसाइकल र्यालीप्रति गम्भीर र्ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सभापति तथा प्रत्यक्ष उम्मेदवार मानबहादुर शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा शुक्रबार सानीभेरी गाउँपालिकामा निकालिएको र्याली र झण्डाको विषयलाई लिएर ध्यानाकर्षण गराएको हो ।
रुकुम पश्चिममा रास्वपाले कुनै पनि अन्य दल वा उम्मेदवारलाई आधिकारिक समर्थन र गठबन्धन नगरेकाले यसखालको र्यालीलाई नियोजित र कपोलकल्पित भनिएको छ । यस्ता भ्रामक र नियोजित प्रचार गर्नेलाई छानबिन गरी आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई रास्वपाले आग्रह गरेको छ ।
त्यस्तै गाउँ गाउँमा रास्वपाको जनलहर बढ्दै गएकाले निर्वाचनमा हार्ने निश्चित भएकाले झुट र भ्रमको खेती गरेको विज्ञप्तिमा भनिएको छ । यसले निर्वाचनको स्वच्छतालाई कमजोर बनाउने भन्दै झुटको सहारामा राजनीति गर्नेलाई जनताले उचित जवाफ दिने रास्वपाको भनाइ छ ।
शुक्रबार सानीभेरी गाउँपालिकामा रास्वपा, प्रलोपा र नेपाली कांग्रेसको झन्डा सहित सामूहिक मोटरसाइकल र्याली प्रदर्शन गरिएको थियो । यसै विषयलाई लिएर कांग्रेस र रास्वपाले पार्टीको आधिकारिक धारणासहित विज्ञप्ति मार्फत घोर विरोध जनाएका छन् ।
विज्ञप्ति तल छ ।
