रुकुम पश्चिम -९, मङ्सिर ।
Advertisement
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११, सिमपाखामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा आज दिउँसो एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
सिम बजारबाट चिसापानी तर्फ आउँदै गरेको ०३-००१ प ०९२० नम्बरको मोटरसाइकल र चिसापानीबाट राडीतर्फ जाँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप एकआपसमा ठोकिँदा मोटरसाईकलमा सवार तीन जना मध्य एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा नलगाड नगरपालिका -८, जाजरकोटका ३५ वर्षीय सीताराम चदारा रहेका छन् । दुर्घटनामा परेर घाइते हुनेमा सोही वडाका -१६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका -११, का १४ वर्षीय कमल सुनार रहेका छन् ।
घाइते दुवै जनालाई उपचारका लागि नगर अस्पताल राडी लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरी प्रसाद पुनले बताए ।