रुकुम पश्चिम -११, कात्तिक ।
रुकुम पश्चिम खण्डमा पर्ने मध्यपहाडी राजमार्गको किटनी-साँख खण्ड बन्द हुने भएको छ । राजमार्गको बाँकी सडकखण्डमा निर्माण कार्य सञ्चालन गर्नुपर्ने भएकाले बुधबारदेखि साँख-किटनी हुँदै रानीकोटसम्मको सडक खण्ड बन्द हुने भएको हो ।
कात्तिक ३० गते सम्म निर्माण कार्य सञ्चालन हुने भएकाले यातायातका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार साना सवारी साधनको हकमा रानीकोट-किटनी-साँख खण्डमा प्रयोग हुने सवारी साधनहरूका लागि बैकल्पिक मार्ग खलंगा-राउखेत-छिङ-नाथिगाड-धाउन्ने हुँदै रुकुमकोट सडक खण्ड प्रयोगमा ल्याइने भएको छ ।
त्यस्तै ठूला सवारी साधनहरूको लागि बैकल्पिक मार्ग खलंगा देखि बाँफिकोट-पिपल-पोखरा-रुकुमकोट सडक खण्ड प्रयोग गरिने छ ।
प्रजिअ थानीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले यातायातका सवारी साधन संचालन सम्बन्धी सो निर्णय गरेको हो ।