रुकुम पश्चिम -५, कात्तिक ।
यमपञ्चकको आज चौथो दिन गोरु पूजा मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकको दिन आज गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
वर्षभरी जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको छ ।
यस वर्षको भाइटिका कात्तिक ६ गते बिहीवार परेको छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।