रमेश केसी
आठविसकोट -५, असोज ।
आठबिसकोट नगरपालिका -१४, छेपारेमा नगर प्रहरीका लागि बनाइएको भवन प्रयोग विहीन बनेको छ । जाजरकोट भूकम्पपछि निर्माण गरिएको भवन लामो समयदेखि प्रयोग विहीन बनेको हो ।
भवन निर्माण लगत्तै केही महिना प्रयोगमा ल्याइएको भवन हाल अलपत्र अवस्थामा रहेको स्थानीय बताउँछन् । लामो समयदेखि प्रहरी बिट सहितको भवन प्रयोगमा नआउँदा भवनको चारैतर्फ सिस्नो र घाँस मात्रै फैलिएको छ ।
नगरपालिकाले यस भवनलाई कर सङ्कलन गर्ने प्रयोजनका लागि लाखौं रकम खर्चेर बनाएको हो । तर नगर प्रहरी नै नबस्ने यो भवनमा हाल स्थानीयले आफ्ना घरायसी सामग्री राख्दै आएका छन् ।
त्यस्तै स्थानीय बासिन्दाले अलपत्र पारिएको भवनलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । यहाँको आठबिसकोट नगरपालिकामा नागरिकको सेवा प्रवाहलाई सहज बनाउन थुप्रै सार्वजनिक संरचनाहरू निर्माण गरिएको छ ।
तर केही संरचनाहरू प्रयोगमा आउँदा राज्यको सम्पत्ति खर्चेर बनाइएका केही संरचनाहरू अलपत्र अवस्थामा रहेका छन् ।