रुकुम पश्चिम, -२७ भदौ
जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमले आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भदौ २३ गतेदेखि विभिन्न स्थानमा विरोध प्रदर्शन र जुलुसका गतिविधि बढ्दै गएको र यसले शान्ति सुरक्षामा चुनौती पुर्याउन सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ ।
जारी आदेशअनुसार अस्थायी प्रहरी पोष्ट पातुखोला, जिल्ला अदालत, मुसिकोट नगरपालिका, सेरीगाउँ, प्रहरी बिट पिपलनेटा, जिल्ला कारागार हुँदै पुनः पातुखोलासम्मको १ सय मिटर क्षेत्रभित्र तथा जिल्लाका सबै गाउँपालिका र नगरपालिका केन्द्र वरपर ५ सय मिटर दूरीसम्म भेला, जुलुस, प्रदर्शन वा पाँचजनाभन्दा बढीको समूहमा आवागमन पूर्णरूपमा निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीद्वारा जारी आदेशमा निषेधित क्षेत्रमा उल्लंघन गर्नेहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।