रुकुम पश्चिम -१०, साउन ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -११, सेरा बालुवामा आयोजित राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल पुलिसले जितेको छ । श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आज भएको फाइनल खेलमा एपिएफलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।
उपाधि जितसँगै नेपाल पुलिसले सिल्ड, मेडल र प्रमाणपत्र सहित पाँच लाख पुरस्कार जितेको आयोजकले बताएको छ । उपविजेता एपिएफले ३ लाख, तेस्रो स्थान प्राप्त गर्ने गण्डकी प्रदेशले दुई लाख र सान्त्वना मणि मुकुन्द भलिबल क्लबले १ लाख प्राप्त गरेको छ ।
साउन ४ गतेदेखि सुरु भएको भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए । क्लबको ३०औं वार्षिक उत्सवको अवसरमा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगितामा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रेशम छन्त्याल, बेस्ट स्पाइकर सुरेन्द्र केसी, बेस्ट सर्भर सरोज बर्देवा, बेस्ट ब्लकर सुगम सुनार, बेस्ट डिफेन्डर भिम गाहा मगर, बेस्ट सेटर बलराम गुरुङ र बेस्ट कोच चन्द्र कुँवर भएका छन् ।