रुकुम पश्चिम -१२, असार ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी तीव्र गतिमा बढेको बताए ।
हाल उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेकाले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गरिने उनको भनाइ छ । “अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ, त्यसैका लागि दिनरात काम भइरहेको छ, भट्टराईले भने ।”
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताइएको छ ।
२०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरबाट पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।