रुकुम पश्चिम -११, जेठ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१३, को एक विद्यालयलाई समाजसेवी जित बहादुर पुन (जेबी) ले आर्थिक सहयोग गरेका छन् । जन जागरण माध्यमिक विद्यालय घेत्मा गाउँबारीको विद्यालयलाई ६१ हजार ८ सय ८५ रुपैयाँ सहयोग गरेका हुन् ।
बाल्यकालमा आफूले अध्ययन गरेको विद्यालयको विकास र प्रगतिका लागि सकेसम्मको आर्थिक सहयोग गरेको पुनले बताए । सोही वडामा जन्मिएर भेरीगंगा नगरपालिका वडानम्बर -१०, सुर्खेत स्थायी घर भएका जेबी लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनले सहयोग रकम विद्यालयको खातामा जम्मा गरिदिएको प्रधानाध्यापक टेक जंग शाहले बताएका छन् ।
समाजसेवी पुनले हामी बनाउँछौं हाम्रो विद्यालय भन्ने ध्येयका साथ सुरु गरिएको अभियान अनुरूप विद्यालयलाई सहयोग गरेका हुन् । यस विद्यालयलाई आर्थिक सहयोगपछि विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पुर्ण अभिभावक र विद्यार्थीको तर्फबाट उनलाई धन्यवाद ज्ञापन गरिएको छ ।
साथै यहाँको जनजागरण माध्यमिक विद्यालयले हामी बनाउँछौं हाम्रो विद्यालय भन्ने अभियानमा जोडिएर विद्यालयलाई आर्थिक सहयोग गर्नका निम्ति सहयोगको अपिल गरेको छ ।
समाजसेवी जेबी पुनले आर्थिक अवस्था कमजोर भएका नेपालका विभिन्न ठाउँका विपन्न परिवार, असहाय, बिरामीलाई समेत आर्थिक सहयोग गर्दै आइरहेका छन् ।