रुकुम पश्चिम -४, वैशाख ।
आज देखि लगातार दुई दिनसम्म देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा वर्षासहित चट्याङ र हिमपात हुने बताएको छ ।
शाखाका अनुसार आज कोशी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा हुने छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज र भोलि हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले बताएको छ ।
त्यसैगरी शुक्रबार कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने छ । बाँकी सबै प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने महाशाखाको भनाइ छ ।
वर्षा सँगै हावा हुरी र चट्याङको समेत सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन शाखाले अनुरोध गरेको छ ।
पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको वायुमा पानीको कण भएको हावाको प्रभावका कारण मौसमी प्रभाव रहेको बताइएको छ ।