रुकुम पश्चिम -११, चैत
ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ मंगलबार ( चैत १२ गते ) बाँडफाँड हुने भएको छ । बिक्रीको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडका अनुसार लाजिम्पाटस्थित कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट हुनेछ ।
कम्पनीले कुल १८ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । सो मध्ये, १० प्रतिशत हुन आउने १ लाख ८० हजार कित्ता प्रवासी नेपालीहरूका लागि, ५ प्रतिशत हुन आउने ९० हजार कित्ता म्युचुअल फण्डका लागि, भने ३ प्रतिशत हुन आउने ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा १९ लाख ८८ हजार ८ सय ३६ जनाको आवेदन परेको थियो । आवेदकमध्य १ लाख ४७ हजार ६ सय जना भाग्यशाली आवेदकले मात्र आईपीओ हात पार्नेछन् । यस तथ्यांकअनुसार, ७.४२ प्रतिशत आवेदक मात्र सफल हुनेछन् भने बाँकी ९२.५८ प्रतिशत आवेदकको हात खाली हुनेछ।
क्रेडिट रेटिङ संस्था CARE Ratings Nepal Limited ले ओम मेगाश्री फार्मास्युटिकल्सलाई CARE-NP BB रेटिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीले मध्यम जोखिम बहन गर्ने क्षमता राख्नेगर्छ ।
चितवनमा उत्पादन संयन्त्र रहेको ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड २०१६ जुन १२ मा स्थापना भएको थियो । औषधि उत्पादन गर्दै आएको कम्पनी २०२४ फेब्रुअरी १९ देखि आंशिक रूपमा सञ्चालनमा आएको छ।