रुकुम पश्चिम -११, चैत ।
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम मार्फत् रुकुम पश्चिममा खानेपानी आयोजना निर्माण गरेको छ । जिल्लाको सानीभेरी र त्रिवेणी गाउँपालिकाका तीन वटा वडामा खानेपानी आयोजना निर्माण गरेको हो ।
गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित तीन वडामा एक घर एक धारा सहितको स्वच्छ खानेपानी व्यवस्थापन गरिएको रेडक्रसले बताएको छ । रेडक्रसले सानीभेरी गाउँपालिकाको वडानम्बर -४, र त्रिवेणी गाउँपालिकाको -९ र १० का भूकम्प प्रभावितको घरघरमा खानेपानी पुर्याएको हो । खानेपानी आयोजनाबाट ८१ घरधुरी लाभान्वित भएको बताइएको छ । हाल भूकम्प प्रभावित बस्तीमा मिटर जडित खानेपानी पुगेपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।
रेडक्रसले नेपाल सरकारको नीति अनुसार एक घर एक धाराको अवधारणालाई सहयोग पुग्ने गरी प्रभावित बस्ती र केही सामुदायिक विद्यालयमा खानेपानी पुर्याएको छ । भूकम्पपछि रेडक्रसले दुईवटा पालिकामा हालसम्म तीन करोड ५० लाख बराबरको पुनर्लाभ कार्यक्रम सञ्चालन गरिसकेको छ । सोही कार्यक्रम अन्तर्गत रहेर स्थानीयको जनश्रमदान सहित ६१ लाखमा तीन वटा खानेपानी आयोजना निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको रेडक्रसका कार्यकम संयोजक सरोज थापाको भनाइ छ ।
रुकुम पश्चिमको रेडक्रस सोसाइटीले पुनर्लाभ कार्यक्रमबाट भूकम्प प्रभावितलाई लक्षित गरी यसअघि अस्थायी आवास सहित शौचालय निर्माण, कामका लागि नगद कार्यक्रम तथा जीविकोपार्जन सशर्त नगद अनुदान कार्यकम सञ्चालन गरिसकेको छ ।