रुकुम पश्चिम -७, चैत
रुकुम पश्चिममा सुनौलो हजार दिने आमाहरूलाई बेमौसमी तरकारीको बिउबिजन वितरण गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत कृषि विकास शाखाको आयोजना तथा ११ नम्बर वडा कार्यालयको सहजीकरणमा आज वडाभित्रका एकसय एक जना आमाहरूलाई बिउबिजन वितरण गरिएको हो ।
नगरपालिकाले महिलाहरूको पोषण सुधार, आयआर्जनका अवसर सिर्जना र जैविक कृषि प्रवर्द्धनका लागि बिउबिजन वितरण कार्यक्रम ल्याएको बताएको छ । यसै अन्तर्गत रहेर सुनौलो हजार दिने आमाहरूलाई बेमौसमी तरकारीको बिउबिजन वितरण गरिएको नगर उपप्रमुख बिमल कुमार पुन मगरले बताए ।
स्थानीय तहको यो अभियानले आमाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तथा स्वास्थ्यमैत्री कृषि उत्पादनमा सहयोग पुर्याउने विश्वास समेत गरिएको छ ।
वडाका कार्यबाहक वडाअध्यक्ष शसिराम रोका क्षेत्रीको अध्यक्षता तथा नगर उपप्रमुख बिमल कुमार पुन मगरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कृषि विकास शाखाका प्रमुख यज्ञ बहादुर खड्का, वडा सदस्य हरि बहादुर पुन, वडा सचिव धन कुमार शाही, भलाक्चा स्वास्थ्य चौकी इन्चार्ज चुडामणि बिक लगायतको उपस्थिति रहेको थियो ।
कृषि प्राविधिक शिमा पुन मगरले सञ्चालन गरेको कार्यक्रममा सहभागी आमाहरूलाई बेमौसमी तरकारी खेतीको महत्त्व, खेती प्रविधि, तथा उत्पादनबाट हुने लाभबारे जानकारी दिइएको बताइएको छ ।