रुकुम पश्चिम -२६, फागुन ।
नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र नै भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सोमबार बसेको सचिवालयको तेस्रो बैठकले गणतन्त्र विरुद्ध गतिविधि गर्नेहरूको विरोध गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अहिले केही व्यक्तिले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गरेको बताए । यस्ता गतिविधिहरु नेपाली जनताको चाहना र भावना विपरित भएकाले यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अगाडि बढ्न आवश्यक रहेको ज्वालाको भनाइ छ ।
पार्टी सचिवालय बैठकले प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिको चलखेल र गतिविधिहरुको विरोध गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायलाई समेत अपिल गरिएको बताएको छ ।
यसैगरी आजको बैठकले आगामी चैत १ गते वृहत पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी तथा सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।