रुकुम पश्चिम -२२, माघ ।
रुकुम पश्चिममा आजदेखी पाठेघरको मुखको क्यान्सर विरुद्धको एच. पि. भी. खोप लगाउन शुरु गरिएको छ । एच. पि. भी. खोप अभियान अन्तर्गत जिल्लाका दश हजार एकसय ९३ छात्रालाई खोप लगाउने लक्ष्यका साथ आजदेखी खोप शुरु गरिएको हो ।
जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका ९ हजार नौसय ६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख महेश चौलागाईको भनाई छ ।
एच. पि. भी. खोप मुसिकोट नगरपालिकाका २ हजार १ सय ८० छात्रा, आठबिसकोट नगरपालिकाका २ हजार १ सय ७९ छात्रा चौरजहारी नगरपालिकाका १ हजार ५ सय ३१ छात्रा सानीभेरी गाउँपालिकाका १ हजार ५ सय ५९ छात्रा, त्रिवेणी गाउँपालिकाका १ हजार २ सय ७९ र बाँफिकोट गाउँपालिकाका १ हजार दुई सय ३२ छात्रा तथा किशोरीलाई लगाइने छ ।
एच. पि. भी. खोप अभियानका लागि २ सय सात वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २ सय १२ जना स्वास्थ्यकर्मी र ४ सय ४४ जना स्वयंसेवक परिचालन छन् ।
आजबाट शुरु भएको खोप फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । एच. पि. भी. खोप अभियानमा छुटेकालाई भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप दिइने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।