रुकुम पश्चिम -१२, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९, कुप्रेकोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । ‘स्थानीय कुप्रेकोट मेला जाऔं, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसँगै रमाऔं’ भन्ने मूल नाराका साथ कात्तिक ३० देखि मंसिर २ गतेसम्म मेला सञ्चालन हुने भएको छ ।
मुसिकोटमा आज पत्रकार सम्मेलन गरी एकता समाज नेपालले विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागेको बताएको छ । आयोजकका अनुसार प्रतियोगितातर्फ पुरुष भलिबल, अनलाइन वक्तृत्वकला, लोकदोहोरी, एकल नृत्य, घैँटो फोर र बेलुन फुटाउने कार्यक्रम राखिएको छ ।
प्रतियोगितामा पुरुष भलिबल शुद्ध वडा स्तरीय खेलाइनेछ । विजेता टिमले ४० हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार रहेको छ ।
अन्य प्रतियोगितामा पनि पुरस्कार राशि राखिएको छ । प्रतियोगितामा सहभागी हुने टिम तथा खेलाडीले कात्तिक ३० गते बिहान १० बजेसम्म टिम दर्ता गर्नुपर्नेछ । खेल तथा कार्यक्रम उद्घाटन सोही दिन बिहान साढे १० बजेबाट सुरु हुने एकता समाज नेपालका अध्यक्ष दुर्गाप्रसाद विकले बताएका छन् ।