रुकुम पश्चिम -२२, भदौ ।
काठमाडौंमा जारी एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) को चौथो दिन आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पहिलो खेल दिउँसो ४ बजे मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर बीच हुनेछ । दोस्रो खेल साँझ ७ बजे कर्णाली शिवराज र सगरमाथा स्म्यासर्स बिच हुनेछ ।
भदौ २७ गतेसम्म सञ्चालन हुने पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगमा मधेस वारियर्स अघिल्ला दुईवटै खेलमा पराजित भएको छ । अन्नपूर्ण स्पाइकरले एकमा जित र एक खेलमा हार ब्यहोरेको छ ।
प्रतियोगितामा कर्णाली शिवराज र सगरमाथाले भने अघिल्ला दुईवटै खेल जितेका छन् । आज यी दुई टिम बीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
भलिबल इतिहासमै पहिलोपटक आयोजना भएको एनभिएलमा सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ ।
एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । एनभिएलमा ६ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेलिरहेका छन् ।