रुकुम पश्चिम -७, भदौ ।
रुकुम पश्चिममा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लिमिटेड मुसिकोट शाखाले बाँफिकोटमा रहेको एक विद्यालयमा आज खानेपानी फिल्टर सामग्री वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वडानम्बर -१०, पुरानो ठाँटीमा रहेको श्री मछिन्द्र आधारभूत विद्यालयमा विद्युतीय पानी शुद्धीकरण गर्ने पानी फिल्टर वितरण गरेकाे हो ।
विद्यार्थीलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले खानेपानी फिल्टर वितरण गरिएको स्वावलम्बन संस्था २७ नम्बर केन्द्रकी प्रमुख रमिता चन्द मल्लको भनाइ छ । खानेपानी फिल्टर सहयोगले विद्यार्थी तथा विद्यालय परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव र पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था, विद्यार्थीको स्वास्थ्य, सरसफाइ तथा नियमित पठनपाठनका लागि महत्वपूर्ण हुने भएकाले उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत फिल्टर सामग्री सहयोग गरेको बताएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले विद्यालयको भौतिक तथा स्वास्थ्यसम्बन्धी आवश्यकतामा केही हदसम्म सहयोग पुग्ने र विद्यार्थीमा पनि स्वच्छ खानेपानी तथा सरसफाइको महत्वबारे सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको छ ।
स्वावलम्बन संस्थाले गरेको सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक तथा शैक्षिक सहयोगको निरन्तर अपेक्षा गरेको छ ।
आजको खानेपानी फिल्टर वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै स्वावलम्बन संस्थाका कर्मचारी, विव्यस परिवार, स्थानीय अभिभावक लगायतको उपस्थित रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल गणेश गिरीले गरेका थिए ।
यस स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय सेवा प्रवाहसँगै समुदायको आवश्यकता र हितलाई ध्यानमा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आगामी दिनमा पनि स्थानीय समुदाय, विद्यालय तथा आवश्यकतामा रहेका वर्गको हितलाई केन्द्रमा राखेर यस्तै उपयोगी तथा प्रभावकारी सामाजिक कार्यक्रमलाई निरन्तरता दिने संस्थाको बताएको छ ।