रुकुम पश्चिम -६, माघ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता तय गरिएको छ ।
मनोनयन पत्र दर्ता गर्दा यसपटक उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले बताएको छ । उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने छ । मनोनयन पत्र दर्ता पछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
त्यस्तै मुलुकभरका एकसय ६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ छैन भनी रुजु पनि गरिनेछ । उम्मेदवारले रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने छ ।
यसैगरी उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था थपिएको छ ।