रुकुम पश्चिम -९, पुस ।
आठविसकोट नगरपालिका वडानम्बर -१३ र १४ मा विद्युत विस्तारको कामले तीव्रता पाएको छ । दुईवटा वडामा विद्युत विस्तार आयोजनाको काम करिब ७५ प्रतिशत सम्पन्न भएको छ ।
विद्युत विस्तारले वर्षौंदेखिको अँध्यारोमा दिन कटाउने समस्या अन्त्य हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् । अहिले यहाँका १३ र १४ नम्बर वडाका लक्षित सबै क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भइसकेको छ । केही टोलका स्थानीयले केन्द्रीय प्रसारणको विद्युत घर घरमा जडान गरिसकेका छन् ।
हाल वडानम्बर -१३ को वडा कार्यालय देखि लटा र हम्पासम्म तथा वडानम्बर -१४ को वडा कार्यालय देखि गाउँबारी हुँदै टाकुरा, पोखरी, च्यापच्यापे, फर्साचौर, गुम्जा, माथिल्लो गुम्जा र खान्टाकुरा सम्म विद्युत लाइन विस्तारको काम चलिरहेको छ ।
भरपर्दो रूपमा विद्युत विस्तारका लागि दुवै वडामा पोल गाड्ने काम सम्पन्न भइसके पनि अहिले पोल मुनि कंक्रिट हाल्ने काम भइरहेको छ । कंक्रिटको काम सकिए लगत्तै विद्युत तार तान्ने काम सुरु गरिनेछ । त्यसपछि मात्रै परीक्षण गरी विद्युत नपुगेको बाँकी टोल बस्तीमा विद्युत सेवा सञ्चालन गरिने छ ।
दुईवटै वडाका सबै बस्तीमा विद्युत सेवा विस्तार भएपछि स्थानीयको दैनिकी सहज हुनुका साथै शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले काम तीव्र गतिमा अघि बढेको भन्दै खुसियाली व्यक्त गरेका छन् ।