सुर्खेत -२७, मङ्सिर ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट एकता दीर्घकालीन र मजबुत हुने दाबी गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टी एकता सन्देश सभालाई शनिबार सम्बोधन गर्दै उनले विगतमा पटक-पटक प्रयास भए पनि कम्युनिस्ट एकता सफल हुन नसकेको उल्लेख गर्दै यसपटक भने जनताको चाहना अनुसार एकता भएकाले दीगो बन्ने विश्वास व्यक्त गरे ।
दाहालले पार्टी एकता जनताको आवश्यकता र चाहनाबाट प्रेरित भएको बताउँदै नेपाली कम्युनिस्ट पार्टी देशकै ‘एक नम्बरको पार्टी’ बन्ने कुरामा आफू ढुक्क रहेको बताए । “सही नेतृत्व र सही विचार भयो भने देशमा आमूल परिवर्तन सम्भव छ,” उनले भने ।
सभामा बोल्दै दाहालले सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाए । कर्णालीलाई सभ्यता, इतिहास र वीर गाथाको धरोहरका रूपमा स्मरण गर्दै उनले कर्णालीले कोरेको ऐतिहासिक योगदानप्रति सम्मान प्रकट गरे । “कर्णालीका सबै सम्भावनाको खोजी गरिनेछ, विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनेछ,” उनले भने ।
१६ वटा कम्युनिस्ट घटक एक हुनुको कारण स्पष्ट पार्दै दाहालले विगतका गल्ती सच्याउने, देश विकासमा एकजुट भएर लाग्ने र जनताको काम गर्ने साझा संकल्प रहेको बताए । वामपन्थी एकताको संरक्षण गर्दै विदेश गएका युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारमा फर्काउने कार्यक्रम ल्याइने उनले जानकारी दिए ।
दाहालले युद्ध सकिएको दुई वर्षपछि आफू माधवकुमार नेपालसँग सबैभन्दा नजिक रहेको प्रसंग समेत उल्लेख गर्दै वर्तमान एकतामा अनुभव र आत्मसमिक्षाको भूमिका महत्वपूर्ण रहेको बताए । साथै, जेनजी युवा पुस्ता ठूलो संख्यामा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको भन्दै यसले पार्टीलाई थप ऊर्जावान बनाएको उनको भनाइ छ ।
“जनताको ताकत जनताकै एकता हो, पार्टीको एकता आजको आवश्यकता हो,” दाहालले जोड दिए । उनले जनताको भरोसा जित्दै देशलाई स्थायित्व, विकास र समृद्धिको बाटोमा अघि बढाउने लक्ष्यसहित कम्युनिस्ट एकता गरिएको स्पष्ट पारे ।