रुकुम पश्चिम -२१, मङ्सिर ।
रुकुम पश्चिममा आईतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका -१, खलङ्गामा नेता जनार्दन शर्माको उपस्थितिमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
साविक माओवादी केन्द्रको पार्टी कार्यालय रहेकै भवनमा प्रलोपाको झण्डा र साइन बोर्ड राखेर जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टी कार्यालय उद्घाटनमा नेता शर्मा सहित कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, प्रलोपाका नेता गोरख बहादुर केसी लगायत जिल्ला स्थित नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।
माओवादी विघटनपछि मुसिकोट -५, सेरीगाउँमा रहेको सहिद प्रतिष्ठानको भवन नेपाली कम्युनिस्ट पार्टी र खलङ्गामा रहेको पार्टी कार्यालय प्रलोपाले प्रयोग गर्ने गरी यसअघि नै दुईवटै पार्टीका जिल्ला संयोजकले भद्र सहमति गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यालय उद्घाटनपछि सोमबारदेखि जिल्लामा औपचारिक रूपमा पार्टी गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।