रुकुम पश्चिम -१४, कात्तिक ।
रुकुम पश्चिममा अबदेखि ड्रोन उडानका लागि अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै ड्रोन उडानका लागि अनुमति लिनुपर्ने बताएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार मानवरहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम सूचना जारी गरिएको छ । सूचनामा निषेधित/नियन्त्रित क्षेत्रमा ड्रोन उडान कार्य नगर्न भनिएको छ ।
तर कार्यविधिले तोकेको निषेधित/नियन्त्रित क्षेत्र बाहेक जिल्ला भित्रको अन्य क्षेत्रमा ड्रोन उडानका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र ड्रोन उडान गर्न सकिने छ ।
यसैगरी कार्यविधिको दफा १४ (क), (ख) र (ग) बमोजिमका क्षेत्र र प्रयोजनमा ड्रोन उडान गर्नुपरेमा जिल्ला प्रशासन कार्यालय/प्रहरीलाई पूर्व जानकारी दिई उडान गर्न सकिनेछ ।
यदि प्रशासनको सूचना विपरीत ड्रोन उडान कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गरिने प्रशासनको भनाइ छ ।