रुकुम पश्चिम, -३१, असोज
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, बाँकेज्युलामा परम्परागत रूपमा लाग्दै आएको बाँकेज्युला मेला आजबाट सुरु भएको छ । १०९ औं बाँके ज्युला मेला आज विविध कार्यक्रमसहित सुरु भएको हो ।
मेला उद्घाटन वडा नं. १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, युवाहरू र मेला प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मेला व्यवस्थापन समितिका अध्यक्ष पवन बिकले गर्नुभएको थियो भने सञ्चालन रमेश मल्लले गर्नुभएको थियो ।
मेला अन्तर्गत खुला वडा स्तरीय भलिबल प्रतियोगिता, लोक तथा सांस्कृतिक नृत्य, र अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
समितिका अनुसार भोलि कार्तिक १ गते बिहान ७ बजेदेखि भलिबल खेल र अन्य सांस्कृतिक कार्यक्रमहरू सुरु हुने छन् ।
मेला व्यवस्थापन समितिले मेलालाई भव्य, सभ्य र सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेको छ ।