रुकुम पश्चिम -११, जेठ ।
नवौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ नेपाल पुलिसले एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशाला स्थित कभर्ड हलमा जारी लिगको आज चौथो दिन पुलिसले एपीएफलाई ३-१ सेटले पराजित गरेको हो ।
पुलिसले २५-१९, २४-२६, २५-१८ र २५-२१ ले आफ्नो तेस्रो जित दर्ता गरेको छ । यो जितसँगै पुलिसले नौ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । आजको खेलमा नेपाल पुलिस क्लबकी उषा भण्डारी क्लब केल्मी प्लेयर अफ द म्याच घोषित भइन् ।
पुलिससँग पराजित भएको विभागीय टोली एपीएफ भने दोस्रो स्थानमा रहेको छ ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एक अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व
गर्ने छ ।