रुकुम पश्चिम -३, साउन ।
बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा रहेको मुसीकोट दरबारलाई आकर्षक बनाइँदैछ । मुसीकोट नगरपालिका -४, मा अवस्थित मुसी दरबारलाई जीर्णोद्वार गरेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको हो ।
आर्थिक वर्ष ८१/८२ मा संघ र प्रदेश सरकारको ९१ लाख बजेटले मुसिकोट दरबारमा विभिन्न संरचनाहरू थप गरिएको नगरपालिकाले बताएको छ । संघीय सरकारको सशर्त अनुदान ७२ लाखले मुसी दरबारभित्र नवदुर्गा भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।
पुरानो, तर जीर्ण बन्दै गएको मन्दिरलाई जीर्णोद्वार गरेर व्यवस्थित बनाइएको छ । उक्त बजेटबाट स्टिल रेलिङ, पर्खाल र दुईवटा गेट निर्माण गरिएको छ ।

त्यस्तै प्रदेश सरकारको विशेष अनुदान कार्यक्रमबाट १९ लाख बजेटले मुसी दरबारमा लभ पार्क, स्टिल ट्याङ्की, ट्रस निर्माण लगायत संरचनाहरू निर्माण गरिएको नगर उपप्रमुख बिमल कुमार पुन मगरले बताए ।
दरबार परिसर भित्र मन्दिर सहित हाल विभिन्न संरचनाहरू निर्माण गरिएपछि मुसी दरबारको स्वरूप नै फेरिएको छ । यसबाट मुसी दरबार अवलोकनमा बाह्य तथा आन्तरिक पर्यटकहरू बढ्न सक्ने स्थानीय बताउँछन् । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको समेत उपस्थिति बढ्न थालेको छ ।

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको मुसीकोट ददरबारको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि यसअघि पनि तिनै तहका सरकार लागि परेका थिए ।
तर दरबार भित्र निर्माण गरिएका संरचनाहरू वर्षेनी जीर्ण बन्दै गएपछि यसपटक मुसी परिसर भित्रका सबै संरचनाहरूलाई जीर्णोद्वार गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताइएको छ ।
