अमरराज पुन
रुकुम पश्चिम -१०, वैशाख ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले साढे २ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६ सय ४९ साना तथा ठूला सवारी साधनलाई कारबाही गरेको हो ।
ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्र प्रसाद भट्टले जिल्लाका विभिन्न स्थानमा नियमित ट्राफिक चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको बताए । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी एकहजार तीनसय ६६ मोटरसाइकल रहेका छन् ।
त्यस्तै ५ सय १८ वटा जिप/कार/भ्यान, २ सय ६९ वटा टेम्पो, १ सय ९३ वटा ट्रयाक्टर, १ सय ६४ वटा बस तथा मिनिबस र १ सय ३९ वटा ट्रक/ट्याङ्कर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
२४ लाख ७३ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २४ लाख ७३ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । ट्राफिक चेकजाँचका क्रममा कारबाहीमा परेका साढे २ हजार बढी सवारी साधनबाट २४ लाख भन्दा धेरै राजस्व सङ्कलन गरिएको छ ।
जसमध्ये मोटरसाइकलबाट मात्रै १४ लाख ४५ हजार ५ सय राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
त्यस्तै जिप/कार/भ्यानबाट ४ लाख ६ हजार, टेम्पोबाट दुई लाख १० हजार, बस तथा मिनिबसबाट १ लाख ४४ हजार, ट्रक/ट्याङ्करबाट १ लाख ३६ हजार ५ सय र ट्रयाक्टरबाट १ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व जम्मा गरिएको छ ।
८० वटा सवारी दुर्घटनाबाट पाँचजनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ८० वटा सवारी साधन दुर्घटनामा परेको बताएको छ । साउनदेखि चैत अन्तिमसम्म भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचै जना पुरुष रहेका छन् ।
त्यस्तै सवारी दुर्घटनाबाट ३८ जना गम्भीर घाइते हुँदा ९० जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको दुर्घटना विवरणमा छ ।
चालु आर्थिक वर्ष देखि चैत सम्म ४१ वटा मोटरसाइकल, १३ वटा जिप/कार, १२ वटा अटो लगायत अन्य साना तथा ठूला सवारी साधन दुर्घटनामा परेका छन् ।
गत आर्थिक वर्षमा साढे ५ हजार सवारी साधन कारबाहीमा, ४१ लाख बढी राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष ८०/८१ मा पाँच हजार ६ सय ७५ सवारी साधन कारबाही गरेको छ । कारबाहीमा परेका सवारी साधनबाट ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको बताइएको छ ।
गत वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट मात्रै २० लाख राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले २ हजार ७ सय ३५ मोटरसाइकल कारबाही गरेको थियो ।
त्यस्तै गत आर्थिक वर्षमा ८० वटा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु हुँदा १ सय ५५ जना घाइते भएका थिए ।